भरतपुर । पूर्वीचितवनको रत्ननगरमा रोजगार मेला हुने भएको छ । निपनी चोकमा रहेको होटल स्टार बैंक्युटमा मा चैत १० गतेदेखि ३ दिन हुने जनाइएको छ । वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुन लागेको हो । आलोपालो रोजगार मेला गर्ने समझदारी अनुसारनै गत वर्ष भरतपुर महानगरमा भएको रोजगार मेला यसपाली रत्नननगर नगरपालिकामा हुन लागेको हो ।
आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीको अध्यक्षतामा रोजगार मेला मुल समितिको बैठक समेत बसेको छ । बैठकमा नगरप्रमुख प्रलाद सापकोटा, भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्री नारायण शर्मा, भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल लगायतको सहभागिता थियो । जागिर दिने–लिनेहरु मेलामा सहभािग हुने अपेक्षा गरिएको छ ।
मेला भरतपुर महानगर र रत्ननगरको संयुक्त आयोजनमा हुन लागेको हो । मेलामा निःशुल्क स्टल राख्न पाइने छ । अवलोकन गर्न शुल्क तिर्नुपर्दैन । ‘रोजगार बैंक’को अवधारणा अन्तर्गत रोजगार मेला हुन लागेको हो । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरले जनाएको छ ।