काठमाडौं । प्रदेश सरकारहरु अन्यौलमा परेका छन् । संघीय सरकारमा बदलिएको समिकरणको प्रभाव प्रदेश सरकारहरुमा पर्ने जोखिम बढेको छ । राष्ट्रपति चुनाव लगत्तै प्रदेश सरकार फेरबदल हुने सम्भावना बलियो छ । एमाले नेतृत्वमा रहेका प्रदेश सरकार संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै संकटमा पर्ने देखिएको छ ।
एमाले–माओवादीको सहकार्य टुटेपछि प्रदेशमा बनेका एमालेका मन्त्रीहरु पनि बाहिरिने अवस्था आएको छ । एमालेले नेतृत्व गरेका प्रदेशहरुमा प्रदेश १ मा मुख्यमन्त्री हिक्मत कार्की, गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरी छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतको नयाँ गठबन्धन बनेकाले कार्की, अधिकारी, गिरी अल्पमतमा पर्ने देखिन्छ ।
मधेस प्रदेशमा मुख्यमन्त्री जसपाका सरोज यादव, बामगती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका राजकुमार शर्मा, सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री कांग्रेसका कमल शाह छन् । मधेस प्रदेशमा सत्ता समिकरण फेरिदा पनि तत्काल असर पर्ने देखिएको छैन ।
बागमती, कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिएको छ । एमालेले छाड्दा समेत यी प्रदेशमा अप्ठेरो हुने देखिदैन । सुदुरपश्चिममा एमालेका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २६ गते विश्वासको मत जित्न नसकेपछि कांग्रेसबाट शाह मुख्यमन्त्री बनेका छन् । उनले विश्वासको मत लिन बाँकीनै छ । तर, उनलाई समस्या नहुने विश्लेषण छन् ।