काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक समिकरण बदलेकोमा प्रचण्डको आलोचान गरेका छन् । काठमाडौँमा सहिद परिवार र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रचण्डले धोका दिएको भन्दै उनको आलोचन गरेका थिए ।
उनले भने, “प्रचण्ड धोका दिन अप्ठेरो मान्नुहुन्न । सहिदलाई धोका दिनुभयो भने मलाई धोका किन नदिने ?” उनले पुस १० पछि प्रचण्ड पहिलेजस्तै धोका दिने बाटोमा लागेको टिप्पणी गरे । “अस्तिका दिनसम्म मसँग छकाउने भाषा बोल्नुभयो, चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो”, ओलीले भने, “मैले चक्कु देखेर पनि तपाईँले भनेपछि फूल नै हो भनेर बसेँ ।” पुस १० पछि दाम्लो चुँडाएर हिड्न खोजेपनि आँफुले रोकेको बताए ।
२०६३ सालयता धेरै समय सरकारमा रहने प्रचण्ड र माओवादी पार्टी भएको बताउँदै सत्ताका लागि जतापनि मोडिने व्यक्तिका रुपमा चित्रण गरे । प्रचण्डको बोली एउटा र काम बेग्लै हुने गरेको बताए । प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कटाक्ष गरे । “बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने”, उनले भने, “कसले कचौरामा कति दूध भात दिन्छ, त्यस अनुसार खुत्रुक्क छिमेकीका घरतिर सर्ने ।”