भरतपुर । चितवनका किसानहरुले सिंहदरबार घेराउ गर्ने चेतावनी दिएका छन् । चितवन किसान संघर्ष समितिले ट्याक्टर सहितको विरोध प्रर्दशन गरेको छ । तरकारीमा मूल्य नपाएको भन्दै आक्रोशित बनेका किसानहरुले सरकार विरुद्ध नारायणगढस्थित पुलचोकमा कालो बेलुन उडाएका छन् । भरतपुरको केन्द्रीय बस ट्रमिनलबाट ट्याक्टर सहितको विरोध प्रर्दशनमा निस्किएका किसानहरुले आयातित तरकारी रोक्न माग समेत गरेका छन् ।
माघ २० गते पुलचोकमा तरकारी फालेर प्रर्दशन गरेका उनीहरुले किसानले मागहरु सम्बोधन नगरेको भन्दै दोस्रो चरणको आन्दोलन गरेका हुन् । संघर्ष समितिका संयोजक लेखनाथ भुषालले मागहरु सम्बोधन नभए सिंहदरबार घेराउन गर्न जाने चेतावनी दिए । “ बारीमा काम गरिरहेको सरकारले देखेन, आन्दोलनमा छौँ भनेर फेरी सडकमा आएका छौँ”, उनले भने, “किसानको पक्षमा नीतिगत निर्णय होस्, कृषि ऐन जारी होस्, लागत अनुसारको तरकारी मूल्य किसानले पाउने वातावरण बनोस् ।” उनका अनुसार लागतभन्दा पनि आधा मूल्यमा तरकारी बेच्न बाध्य भएको दुखेसो गरे ।
किसानहरुले ७–८ रुपैयाँमा बेचेको काउली बजारमा ५० रुपैयाँ, ४ रुपैयाँमा बेचेको बन्दा ३० रुपैयाँमा, ६ रुपैयाँमा बेचेको फर्सि ३५ रुपैयाँमा खरिद गर्न उपभोक्ताहरु बाध्य भएको बताए । “किसानले सस्तोमा तरकारी बेचिरहेका छन्, तर उपभोक्ताले तेब्बर बढी मूल्यमा तरकारी खरिद गर्न बाध्य छन्”, उनले भने, “विचौलिया मोटाएका छन्, किसानहरुले लागत पनि नपाउने अवस्था छ, सरकारले किसानलाई सधै उपेक्षा गरिरहेको छ ।” किसानले लागत पनि नपाएपछि पेशानै छाड्नपर्ने स्थितिमा पुगेको बताए । माघ २१ गते कृषि तथा पशुपंक्षि विकास मन्त्रीलाई चितवनमै १० बुँदे मागहरु राखिएपनि सुनवाई नभएको बताए ।
“मन्त्री ज्यूलाई पनि मागहरु बुझाएका थियौँ, कृषिका सबै संयन्त्रमा मागहरु बुझाएर कुरेकै थियौँ”, उनले भने, “तर, सुनवाईनै भएन, किसानहरु अब चुप बस्नेवाला छैनन् ।” विदेशी आयातित तरकारी तथा कृषिजन्य वस्तु निषेध गर्नुपर्ने, किसान कार्ड र पेन्सनको व्यवस्था हुनुपर्ने, उत्पादन र क्षेत्रफलका आधारमा अनुदान दिने नीति ल्याउनुपर्ने, तरकारी तथा कृषि व्यवसायलाई औद्योगिकरण गर्ने नीति लागु गर्नुपर्ने, गुणस्तरीय बीउ ,बिजन, विदाी, रासायनिक मल सहज रुपमा उपलब्ध गराउनुपर्ने लगायतका मागहरु बुझाएका थिए । किसान अगुवा सुमन सुवेदीले किसानलाई राज्यले सधै वेवास्ता गरिरहेको बताए । “किसानको पक्षमा काम गर्ने सरकार कहिल्यै देख्न पाएनौँ”, उनले भने, “हामी अब सिंहदरबारनै गएर सरकारको ध्यानाकर्षण गराउनेछौँ ।”
युवा किसान धनु अधिकारीले बजारीकरणमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताइन् । कृषि प्रधान देशमै किसानहरु रुदै बस्ने स्थिति अन्त्य हुनुपर्ने बताइन् । युवा किसान अटल शर्माले स्वदेशमै रोजगारी सृजना गर्दै आत्मनिर्भर बन्न खोजेका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । भरतपुर–२० भीमनगरका टंक पौडेलले तरकारीको मूल्य नपाउने समस्या वर्षेनी झेल्दै आउनुपरेको बताए । शिक्षण पेशानै छाडेर ७ विघामा तरकारी खेती गर्दै आइरहेका पौडेलले लागत मूल्य पनि नपाउने अवस्था रोक्न आयातित तरकारी रोक्नुपर्ने बताए ।
भरतपुर–२६ दिव्यनगरका बलराम राउतले मूल्य आउला–आउला भनेका बेला स्वट्टै भाउ ओरालो लाग्ने पीर खेप्दै आउनुपरेको बताए । १० विघामा तरकारी खेती गर्दै आएका राउतले ५ रुपैयाँमा पनि काउली, बन्दा बिक्रि नभएपछि २ विघा खेत जोतेका थिए । “जब यहाँ उत्पादन राम्रो हुन्छ, भारतबाट तरकारी आइपुग्छ”, उनले भने, “भाउ पाउने आशा एक्कासी सकिन्छ, किसानलाई पलायन गराउन सरकारनै लागेको छ ।”