काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल भईरहेको छ ।चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि ओलीसँग छलफल थालेका हुन् । दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार तर्फ लागेका थिए ।
केहीबेरअघि बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका प्रचण्डले यसअघि चार दलसँग छलफल गरेका छन्।चार दलको बैठक बेलुकी ५ बजेपछि फेरि बस्ने तयारी छ। त्यसअघि एमाले अध्यक्ष ओलीसँग समेत सोही विषयमा प्रचण्डले छलफल गर्दैछन्।
एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरिसकेको छ। एकीकृत समाजवादीले चार दलीय गठबन्धनमा समेत आफ्नो दाबी प्रस्तुत गरेको छ। संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताएका थिए ।