मकवानपुर । जङ्गली हात्तीको आक्रमणबाट मकवानपुरमा गएराति एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बकैया गाउँपालिका– ५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गएराति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो।गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए।
हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग
यसैबिच..नेकपा एमालेका सांसद महेश बर्तौलाले मकवानपुरको मनहरीमा यमगज नामको हात्तीले स्थानीयलाई दुख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त हात्ती नियन्त्रण गर्न माग गरेका हुन् । सांसद बर्तौलाका अनुसार उक्त हात्तीको आक्रमणबाट मनहरीका ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको छ ।
हात्तीले स्थानीय बालीमा नोक्सानी पु¥याउँदै आएको छ । हात्तीको आक्रमणमा पर्ने डरमा विद्यार्थीहरु विद्यालय जान सकिरहेका छैनन् । तर, राष्ट्रिय निकुञ्ज र वनका कर्मचारीहरुले हात्री नियन्त्रणका लागि प्रयाप्त भूमिका निर्वाह नगरेको सांसद बर्तौला बताउँछन् ।‘अविलम्बन हात्ती नियन्त्रण गर्न र मृतकलाई क्षेतिपुर्तिको माग गर्दछु’ बर्तौलाले प्रतिनिधिसभाको बैठकमा भनेका छन् ।