काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु निर्णायक छलफलमा जुट्दैछन् । सत्तारुढ माओवादी केन्द्रले आज कांग्रेस, नेकपा एस र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ ।
हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी गरिएको हो ।
बैठक राष्ट्रपतिको उम्मेदवार चयनमा केन्द्रित हुनेछ । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ ।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।