खाँदबारी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो । आज संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग पर्यटनमन्त्री किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनेमा ढुक्क हुन सबै पक्षलाई आग्रह गरे ।
नेकपा एमाले, नेपाली कांग्रेसलगायत सबै दलबाट स्वीकार हुने राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन नेकपा (माओवादी केन्द्र) ले अधिकतम प्रयास गरिरहेको उनको भनाइ थियो ।राष्ट्रपतिमा सहमतिको विकल्प नभएको भन्दै उनले माओवादीले सबै दलले स्वीकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको बताए । राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन एमाले पनि सहमत हुने उनको भनाइ छ । गठबन्धन अहिले नै फुट्ने अवस्था नभएको पनि मन्त्री किराँतीले बताए ।
फरक प्रसंगमा मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए । ‘प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ । विदेशी संस्कृतिको फोटोकपी भन्दा नेपालीपन भए मात्र धेरै पर्यटन तान्न सकिनेछ,’ मन्त्री किराँतीले भने । उनले तुम्लिङटार विमानस्थलको नवनिर्मित भवनको समेत निरीक्षण गरे । भवन निरीक्षण गर्दै मन्त्री किराँतीले यही चैत मसान्तसम्म भवन निर्माण सम्पन्न गरेर बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिए ।