भरतपुर । सडक सहजताका लागि बनाईन्छ, सुविधाका लागि बनाईन्छ । तर केहि सडक जनता मार्ने पासो बन्ने गरेका छन् । दृष्यमा देखिएको सडक भरतपुरको हाकिमचोकदेखि माडी ठोरी जोड्ने सडक हो । यो सडक निर्माणकै क्रममा कयन दुर्घटना भएका छन् । सो सडक निर्माणकै क्रममा दुर्घटना हुदाँ आज एक जना महिलाकाे मृत्यु भयो । केहि महिना अघि पटिहानीमा ३ जनाको ज्यान गयो । अहिलेसम्म ४ जनाको ज्यान गएको छ । घाईते त कति भए तथ्याकं नै छैन ।
कुनै पनि पुर्वाधार निर्माण गर्दा सुरक्षालाई पनि प्राथमिकता दिने गरिन्छ । तर त्यहाँ त्यस्तो देखिएन । यसै त बाटो निकै घुमाउरो छ । त्यसमा पनि साँघुरो छ । अहिले हाकिम चोकदेखि पटिहानीसम्म बाटोबाट दायाँबाँया २.५० मिटर थप कालोपत्रे, पुल र हाकिमचोकदेखि सितारामचोकसम्म ढल निर्माण भईरहेको छ । दायाँबाया ढल बनाउदा खाडल खनिएको छ । त्यसमा स्ल्याप राखेर ढकनिले छोपिन्छ ।
ढल निर्माण भएको स्थानबाट पुरानो सडकतर्फ दायाँबाँया थप २.५० मिटर कालोपत्रे गर्ने योजना छ । २ वर्ष (२०७९ जेठ मसान्त)भित्र सम्पन्न गर्ने गरि शिवशक्ति र लामा जेभीले २९ करोड रुपैंयामा निर्माण थालेका हुन् । तर समयमा नसकिएपछि १ वर्ष म्याद थपियो । अहिलेसम्म जम्मा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । बाँकी ४ महिनामा ६० प्रतिशत काम सकिएला ? यो सडक राष्ट्रिय राजर्माग अन्र्तगत पर्छ ।
नारायणगढदेखि माडी ठोरी आवत जावत गर्ने यात्रुले यो सडक प्रयोग गर्छन् । निर्माण गर्नै लामो समय लाग्दा जोखिम बढिरहेको छ । विभिन्न बहाना देखाउदैं ठेकेदार कम्पनी उम्कने गरेका छन् । निर्माण सामाग्री अभाव र बिजुलीका पोल समयमै नसारिएका कारण निर्माणमा ढिलाई भईरहेका ठेकेदार कम्पनीका एक ईन्जिनियरले बताए । सरकारले म्याद थप गर्ने र ठेकेदारले उदासिनता देखाउने गरेका छन् ।
तर पटक पटक भईरहने दुर्घटना न्युनिकरण गर्न कुनै निकायले पनि चासो देखाएका छैनन् । सडक विभाग अन्र्तगत डिभिजन सडक कार्यालय भरतपुर यसको नियामक निकाय हो । तर यस सडक कार्यालय अनुगमन गर्ने र म्याद थप गर्ने काम मात्रै गरेको स्थानियहरुले बताएका छन् । घर अगाडी बाटो बन्दै छ, ढल र सडक बनाउन खाडल खनियो, लामो समय खाडल नपुर्दा हिड्डुल गर्न समेत समस्या भईरहेको उनीहरु बताउछँन् ।