चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालू आर्थिक वर्ष ०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आवमा चोरी सिकारले ३ गैँडा मरेका छन्। जसमध्ये २ निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोर सिकारीले गैँडा मारेका उनले बताए।
निकुञ्ज क्षेत्रमा चोर सिकारीले मारेका २ गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन्। सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर ७ सय ५२ गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६ सय ९४ गैँडा छन्। चोर सिकारीले गैँडा मार्न थालेपछि निकुञ्ज विभागले उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ।
यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ। गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैँडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा ४ गैँडा मरेका तिवारीले जानकारी दिए। गत आवमा चोरी–सिकारबाट २ गैँडा मरेका थिए।