काठ्माण्डौ । महाधिवेशनको संघारमा रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानभित्र विवाद चुलिएको छ । फागुन १२ गतेदेखि धादिङमा महाधिवेशन सुरु हुदैछ । तर, प्रतिष्ठानबाट पूर्वमहासचिव गायक विष्णु खत्री बाहिरिएका छन् । २ कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव थिए । उनले संस्थाबाट अपमान र तिरस्कार पाएको उल्लेख गरेका छन् । उनले नयाँ संस्था खोल्ने बताएका छन् । उनले ‘कलाकारिता र संस्कृतिलाई शीरमा राख्ने संस्कृतिकर्मीहरुलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हातेमालो गर्न आउन’ आव्हान गरेका छन् ।
उनी प्रतिष्ठानको अध्यक्षका आकांक्षी थिए । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष तथा गायक बद्री पंगेनीले खत्रीको योगदानको चर्चा गर्दै संस्थामै राखिराख्न प्रयत्न गर्ने बताएका थिए । खत्रीको बहिगर्मनले प्रतिष्ठानको विवाद बाहिरिएको हो । खत्रीले ‘कलाकारको हकहितको मुद्धामा र संस्कृतिको जगेर्नार्थ कतै भेटिने अवसर मिल्यो भने संगै सहयात्री रुपमा रहनेछु’ भन्दै प्रतिष्ठानबाट बाहिरिएका छन् ।
प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाएका छन् । ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’ खत्रीले लेखेका छन् । जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको तर्क छ ।