सामाजिक सञ्जालमा प्रेमिल जोडी–सृजना सुवेदी, विवेक पगेनी तपाईहरुले देखेकै अनुहार हुन् । भनिन्छ– मनको माया स्वच्छ गङ्गाजस्तै हुन्छ । यतिबेला विवेक अस्वस्थ छन् । तेस्रो स्टेजको ब्रेन टुयुमरको उपचार गराइरहेका छन् । उनी अहिले टिकटकमा पहिले जस्तो खुलेर नाच्न सक्दैनन्, घुमफिरमा रमाउन सक्दैनन् । सृजनाका खुशीहरुमा बादल लागेका छन् । विवेक अस्पतालको शैयामा छन् ।
उस्तै छ यो जीवनको कहानी, उस्तै छ हाम्रो वहवेदना यी, जस्तो छ तिम्रो तनमा परेको, उस्तै छ खाल्टो मनमा परेको । कवि विप्लव प्रतिकले कोरेका शव्दहरु जस्तै मोडमा सृजनाको जोडी छ । संघर्षको मोडमा छन् विवेक । दुबैको घर बर्दिया बडैयाताल–५ मा छ । अहिले विवेक अमेरिकाको जर्जियामै उपचार गराइरहेका छन् । अप्रेशन गरेर करिब ५० प्रतिशत ट्यमुर निकालिएको छ । वायोप्सी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । महंगो उपचार गराउन बाध्य छन् । विवेकका एक भाई विपिन नेपालमै छन् । विवेक र सृजनाको यो जोडी धेरैले हेरेका छन् । ७ वर्षको मायाप्रेमपछि विवाहमा जोडिएका थिए सृजना–विवेक ।
उनीहरु टिकटकमा निकै लोकप्रिय छन् । एउटै स्कुल, कक्षा फरक थियो । देखादेख थियो, तर बोलचाल थिएन । जब काठ्माण्डौ पुगे, विवेक फेसबुकमा जोडिए । सृजनालाई शिक्षक, अभिभावकजस्तो निगरानी थाले । सृजना १ वर्ष उनका गतिविधि नियालीरहिन् । पछि दुबै जना प्रेममा परे । घरलाई थाहा दिएनन्, तर साथीभाईहरुसँग घुमफिरमा जादा हेर्ने, बोल्ने गरेर माया हुर्काए । पछि विवेक विहेका लागि सृजनाको हात माग्न पुगे, सृजनाको परिवार पनि तयार बन्यो ।
दुबैजना जिन्दगीको एउटै रथमा हिड्ने बाटो खुल्यो । फागुन १३ गते उनीहरुले विहे गरे । वैवाहिक वर्षगाँठको दिन आउँदैछ, तर यो जोडी खुशी मनाउन नसक्ने अवस्थामा छ । सानैदेखि पढाईमा अब्बल विवेक फिजिक्समा पिचडी गर्न अमेरिकामा छन् । उनी फुल स्कलरसीपमा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका थिए । उनी पहिलो पटक असार २७ गते अमेरिका पुगेका हुन् । पुस २५ गते आमा निर्मलाको निधन भएको खबर जब विवेकले थाहा पाए, त्यसपछि उनी विक्षिप्त बने । रुदै रुदै नेपाल आए । पार्किन्सन रोगका कारण आमाले संसार त्यागिन् ।
आमाको काजक्रिया सकेपछि उनी फेरी अमेरिका जानुपर्ने भयो । विदेश जानु पहिले बुबा मिनराजको स्वास्थ्य परीक्षण गराउन उनी ग्राण्डी अस्पताल पुगे । विवेकको पनि स्वास्थ्य परीक्षण गर्ने कुरा चल्यो । जब उनको स्वास्थ्य परीक्षण गराइयो, उनी तेस्रो स्टेजको ब्रेन ट्युमर भएको पत्ता लाग्यो । त्यसपछि उनीहरु रिपोर्ट बोकेर अमेरिका पुगे । हाँसिरहेको, रमाइरहेको यो जोडी अहिले चुनौतीपूर्ण मोडमा छ । अप्रेशनमा जानु पहिले विवेकले सृजनालाई भनेका थिए– म सकुसल निस्के भनेँ नेपाल जाँदा रारा घुम्न जाऔँला है । श्रीमति सृजना, भाई विपिन लगायतका परिवार तथा शुभेच्छुकहरुले सामाजिक सञ्जालमा विवेक बचाउन सहयोगका लागि अपील गरेका छन् ।
जर्जियाको पिडमण्ट एथेन्स रिजनल हस्पिटलमा विवेकको उपचार भैरहेको छ । सृजनाले सामाजिक सञ्जालमा लेखेकी छन्– आजसम्म कैयौं पटक रोइयो होला । लाखौँ पटक दुःख देखियो, भोगियो । रुँदारुँदा आँशु सुक्छ भनेको सुनेको थिएँ । आज थाहा भयो, हो रहेछ । आफ्नो पिडा आफैंसँग राख्नु पर्छ, अरूसामु देखाउनु कमजोर हुनु हो भन्ने सोच्ने गर्थेँ । कैयौं दुःख पार गरियो । हाँस्दै नाँच्दै, भगवानसँग कहिले गुनासो गरिनँ मैंले । तर, अब सोध्नु छ कि, किन हामी माथी एक पछि अर्को पिडा ?
विवकेलाई बचाउन, सृजनालाई हिम्मत दिन तपाईहरुको सहयोग चाहिएको छ यतिबेला । तपाईलाई निराश बन्दा हसाँउने, खुशी दिने यो जोडीलाई तपाईको सानो सहयोग पनि मूल्यवान बन्नेछ । आउनुहोस्, विवेक बचाउने अभियानमा सहभागि बनौँ । भविष्य बनाउन अध्ययनका लागि अमेरिका पुगेका विवेकको सपना पुरा होस् । विवेक–सृजना छिटै पहिले जस्तै रमाउन सकुन् ।