भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ जिता बरालले अन्य उमेद्वारको जमानत जफत हुने गरि आगामी निर्वाचनमा केन्द्रित हुन स्थानिय नेता कार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।मसिंर ४ मा प्राप्त मत भन्दा बैशाख १० को निर्वाचनमा अत्याधिक ल्याउनुपर्नेमा उनले जोड दिईन् ।राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर १ रामनगरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बरालले यस्तो बताएकी हुन् ।
‘हाम्रो पार्टी सभापति रवि लामिछाने यस चितवन २ बाट पुन प्रतिस्पर्धा गर्न आउनुहुनेछ, उनले भनिन्, अन्य उम्मेदवारको जमानत जफत होस्, त्यसरी लाग्नुपर्ने छ ।’ उनले जनताको घर आँगन केन्द्रित हुनुपर्ने बताईन् । ‘हामीसँग खर्च गर्ने पैसा छैन, यहाँहरुकै घरमा आश्रय लिएर भोट माग्न जानुपर्ने छ, गएको चुनावको प्रसंग स्मरण गर्दै उनले थपिन्, सुधारका लागि, परिवर्तनका लागि घण्टी वाहक उम्मेदवार टोल, टोलमा जानुपर्छ ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति कृष्ण प्रसाद भुषालले केन्द्रिय सभापति रवि लामिछाने नियोजित षडयन्त्रको शिकार भएको बताएका छन् । यस्ता जालझेलमा जनताको मतले नै चिर्नुपर्ने उनले बताए ।जिल्ला उपसंयोजक प्रभा ढकाल, भरतपुर महानगर सभापति सिता ज्ञवाली, सिता दनै, भोजबहादुर श्रेष्ठ, यम शर्मा कँडेल, राधिका तिमिल्सिना, निर्मला गिरी लगायत उपस्थित रहेका थिए ।चितवनबाट बाग्मति प्रदेश सदस्य निर्वाचित नेताहरुलाई शुभकामना प्रदान गरिएको थियो । आगामी १२ गते बृहत रक्तदान कार्यक्रमको पुर्व सन्ध्यामा शुभकामना कार्यक्रम गरिएको वडा सभापति तुलसी श्रेष्ठले बताए ।