दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको बताएका छन् । दाङको भालुबाङ्गमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन भन्ने अभिव्यक्ति दिएका हुन् । उनले भने, “अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न, हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ।” उनले बजारमा हल्लाहरू धेरै आएपनि कुनै टुंगो नलागेको बताए । “चाहना राख्ने कुरा बेग्लै कुरा हो, मैले नै आफू के गर्ने सोचिसकेको छैन”, उनले भने, “हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन, तर, पार्टीको धारणा के छ भन्दा खेरि पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।”
उनले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’को रूपमा लिने संकेत गरे । राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उनको भनाई छ । एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरू सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने तर्क गरे ।
उनले संविधानलाई जोगाउने चिन्ता कायमै रहेको टिप्पणी गरे । चुनावअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति बनाउन सहमत रहेकोे खुलाए । अहिले के गर्ने भन्नेबारे कुनै निचोडमा पुगि नसकेको बताए ।