काठमाडौं । सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव कँहिबाट नआएको बताएका छन् । राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको उनले दाबी गरेका हुन् । एकिकृत समाजवादी पार्टीका नेता समेत रहेको सांसद चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिजोदेखि राष्ट्रपतिका विषयमा खुबै चर्चा भएपनि कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै भेटघाट नभएको दाबी गरेका छन् ।
सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएका थिए । चौधरीले त्यसैलाई लक्षित गर्दै समय–समयमा यस्ता अफवाहहरु आउने र समयक्रममै हराएर जाने गरेको टिप्पणी गरे । उनले भ्रममा नपर्न पनि आग्रह गरे ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा राजनीतिक वृत्तमा विभिन्न कोणमा छलफल जारी छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष ओली एवम् नेकपा एसका नेपालसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । त्यस्तै, एमालेका ओली र नेकपा एसका नेपालबीच पनि भेटवार्ता भएको समाचारहरु आएका थिए ।