वीरगञ्ज । पर्साको ठोरीमा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । वीरगञ्ज–ठोरी सडकखण्डको विजयबस्तीमा प्रदेश नं १–०२६–०३०३ नम्बरको स्कारपियोले ठक्कर दिदाँ ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।
Advertisement
स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
स्कारपियोसहित चितवन माडी नगरपालिका– ३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनास्थल जाँच मुचुल्कालगायतका अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।