काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको महराले बताए । ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपति चुनावको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने अधिकार दिने निर्णय भयो’, महराले भने । राष्ट्रपति निर्वाचनको विषयमा फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।