काठमाडौं ।फागुन २५ गते हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले कार्यालय स्थापना गरेर काम सुरु गरेको छ ।सोमबार आयोगले संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम सुरु गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोमबार कार्यालयको उद्घाटन गर्दै फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने जानकारी दिए । प्रमुख थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन्।
‘निर्वाचन आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारिक रुपमा जनगणनाको नतिजा प्राप्त भइनसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको नै मतभारलाई आधार मानी यो निर्वाचन सम्पन्न गर्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु’ उनले भने ।
प्रमुख आयुक्त थपलियाले २५ फागुनमा हुने निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा दुई वटा मतदान केन्द्र रहने बताए । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उनले जानकारी दिए ।हामीले दुईवटा मतदान केन्द्रको यहाँ व्यवस्था गरेका छौँ । प्रतिनिधि सभा सदस्यतर्फ र प्रदेश सभा सदस्यतर्फ । यसको अर्थ के हो भने प्रदेश सभा सदस्यको मतभार र संघीय संसदका सदस्यका मतभार फरकफरक हुने भएकाले दुईवटा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो’ उनले भने ।