भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन संयोजकमा कृष्णप्रसाद भुषाल चयन भएका छन् । हैटौडमा बसेको बागमती प्रदेश विस्तारित बैठकले भुषाललाई चितवनको जिम्मेवारी दिएको हो । उनी यसअघि चितवन सचिव थिए । तत्कालिन जिल्ला संयोजक धर्मेन्द्र सापकोटा निष्क्रिय बनेपछि मंसिर–४ को निर्वाचनका उम्मेदवारहरुलाई जिताउन भुषाल सक्रिय बनेका थिए । भुषाल रास्वपा पार्टी गठन पहिले कुनैपनि दलसँग आवद्ध थिएनन् । उनले मतदान समेत बहिष्कार गर्दै आएका थिए ।
केही धार्मिक संस्थामा सक्रिय भुषाल रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेपछि असारपछिमात्रै राजनीतिमा होमिएका थिए । चितवन उपसंयोजकमा प्रभा ढकाल चयन भएकी छन् । उनी यसअघि मंसिर ४ को निर्वाचन परिचालन समितिमा सक्रिय थिइन् ।
यस्तै रास्वपामा चितवनबाट ९ जना प्रदेश सदस्यमा चयन भएका छन् । चितवन–१ बाट सिता दनाई, भोजबहादुर श्रेष्ठ, चितवन–२ बाट यम शर्मा कँडेल, प्रभा ढकाल, चितवन–३ बाट कृष्णप्रसाद भुषाल, कविता खतिवडा प्रदेश सदस्य चयन भएका छन् । यस्तै चितवनबाट प्रदेश खुल्ला सदस्यहरुमा जिता बराल, राधिकिा तिमिल्सिना, निर्मला गिरी चयन भएका छन् । रास्वपाको बागमती प्रदेश सभापतिमा डाक्टर अच्युत लामिछाने चयन भएका छन् । १३ जिल्लाबाट ७७ जना छनौट भएका छन् । पछि थप ३ जना मनोनित हुने जनाइएको छ ।
चितवन संयोजक भुषालले केही दिनमै काठ्माण्डौमा बस्ने प्रदेश समितिको बैठकले चितवन–२ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल गर्ने बताए । “उपनिर्वाचनमा सभापति रवि लामिछानेनै उम्मेदवार बन्नुहुन्छ, फराकिलो मतान्तरले जिताउने रणनीति बनाउनेछौँ”, उनले भने, “प्रदेश समितिको निर्णय लगत्तै उपनिर्वाचनका गतिविधिहरु सुरु हुनेछन् ।” मंसिर–४ को निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी ३२ दिन उपप्रधान तथा गृहमन्त्री समेत बनेका थिए । तर, नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि फेरी चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । पुराना दलहरुप्रति निराश बनेका सर्वसाधरणहरुले मंसिर ४ को निर्वाचनमा रास्वपालाई मत दिएर चौथो दल बनाएका थिए । चितवन १ मा हरि ढकाल र २ मा रवि लामिछानेले चुनाव जितेका थिए ।