काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा सघाउने कांग्रेसलाई सघाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएको स्रोतले जनाएको छ । आइतबार साँझ कांग्रेस नेताहरुसँगको भेटमा प्रचण्डले सघाउने आश्वासन दिएको जनाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बलुवाटार पुगेर छलफल गरेका थिए । प्रचण्डले एमाले अध्यक्ष ओलीलाई समेत कांग्रेसलाई आँफुहरुले सघाउने जानकारी गराएको उल्लेख गरेको स्रोतले भन्यो । पुस १० अगाडीको गठबन्धन टुटेको भन्दै कांग्रेस नेताहरुले अब बन्ने समझदारी नटुटाउने बचन दिएका थिए ।
स्रोतका अनुसार प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भएको वान टु वान सम्वादमा सुरुका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने मोटामाटी समझदारी बनेको छ । एमाले अध्यक्ष ओलीले चाल्नसक्ने कदमबारे समेत छलफल भएको थियो । एमालेको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा उभिएका छन् । एकीकृत समाजवादीलाई पनि ओलीले तान्ने कसरत गरेको चर्चा भएको थियो ।
कांग्रेसका एक नेताले भने, ‘पुरानो गठबन्धन व्यूँतिने पक्कापक्की छ । माओवादीले निर्णय गर्नासाथ यसले औपचारिक पाउँछ ।’ माओवादीको दिउसो बस्ने बैठकपछि नेपालको रानजीति नयाँ मोडमा जाने विश्लेषण भैरहेका छन् । माओवादीभित्र वामगठबन्धन जोगाउन राष्ट्रपतिको रुपमा डा. बाबुराम भट्टराईलाई अघि सारेर जानुपर्ने मत पनि छ । कांग्रेस नेताहरुले राष्ट्रपति पद दिएमा पाँच वर्ष नै सरकारको नेतृत्व प्रचण्डलाई दिन पनि तयार रहेको बताएका थिए ।