लुम्बिनी प्रदेश सरकारले मन्त्रीपरिषद् हेरफेरको तयारी गरेको छ । मुख्यमन्त्री लीला गिरीले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्न लागेका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो ।
त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् ।
सत्ता गठबन्धन दलको सहमतिअनुसार जसपालाई सरकारमा ल्याउन लागिएको सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले बताए । मन्त्री आचार्यका अनुसार जसपाका संसदीय दलका नेता अहिरलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताए ।