काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन् । अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताए ।
अनेरास्ववियुको स्थायी कमिटी बैठक उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रपति निर्वाचनपछि मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने बताएका हुन् ।मुलुकमा सबै पद हातमा लिएर राजनीतिमा आफ्नो एकाधिकार चलाउने प्रवृत्ति हावी हुने कि राजनीतिक सन्तुलन मिलाएर अघि बढ्ने भन्ने कुराको टुंगो छिट्टै लाग्ने पनि नेपालको भनाइ थियो । अहिलेको सत्तारुढ गठबन्धनमा परस्पर विरोधी विचारका पार्टी संलग्न भएको उनको भनाइ थियो ।
अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरू जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईंलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको बताए । उनले यसभन्दा अघिको गठबन्धन संविधानको रक्षकहरू भएको गठबन्धन रहेको पनि बताएका थिए ।