नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केहि व्यक्तिका कमजोरीका कारण पुरै राजनिति बदनाम भएको बताएका छन् । राजनीतिभित्र राम्रा मानिस पनि छन् भनेर बुझाउन नसकिएको उनले बताए ।
Advertisement
कर्णाली उत्सवको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा आइतबार सहभागी भएका महामन्त्री शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा देखिने गरेको बताए ।
‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ शर्माले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ ।’उनले संस्थाहरू नै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको बताए ।