भरतपुर । निर्वाचन आयोगले चितवन–२ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता आव्हान गरेको छ । फागुन १० देखि १६ गतेसम्म दल दर्ता गर्न निवेदन माग गरेको हो । उपनिर्वाचन यही वैशाख १० गते हुने भएको छ । निर्वाचन आयोगको कान्तिपथ काठमाडौंस्थित कार्यालयमा निवेदन बुझाउन भनिएको छ ।
मंसिर ४ गते निर्वाचित सांसद रवि लामिछाने नागरिकता विवादमा परेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको सर्वोच्च अदालतबाट माघ १३ मा आदेश भएको थियो । लामिछानेको सांस्द पदनै गुमेको थियो । आयोगले माघ २९ गते उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । चैत २० गते उम्मेदवारनको मनोनयन गर्दा गर्ने, चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२ गते मनोनयनपत्र र उजुृरीउपर जाँचबुझ गरी निर्णय दिने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २३ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवरालाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । मंसिर ४ को निर्वाचनमा उनले ४९ हजार ३ सय मत ल्याएका थिए । कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए । मंसिर ४ को निर्वाचनमा १६ जना उम्मेदवार थिए । अन्य उम्मेदवारले १ हजार भन्दा कम मत पाएका थिए । रवि लामिछाने फेरी यही क्षेत्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।