सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेकै उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले–माओवादीबीच सरकार गठनकै बेला भएको समझदारी कार्यान्वयन हुने बताए । सरकार गठन पूर्व प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको बताएका छन् ।
उनले प्रचण्डकै आग्रहपछि एमालेले प्रधानमन्त्री बनाउन सघाएको जीकिर गरेका छन् । उनले भने, “उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ ।” एमालेबाटै राष्ट्रपति हुनेमा उनी विश्वस्त छन् । वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने उनको दाबी छ । उनले कांग्रेस, माओवादी लगायतको गठबन्धन फुटाउन एमालेले कुनै भूमिका नखेलेको जिकिर गरे ।
उनले एमालेलाई बलियो बनाउने अभियान सुरु भएको जानकारी दिए । अबको दुई महिना पार्टीको ठुलो पंक्ति ग्रासरुटमा खटिएको बताए । उनले हरेक घरमा पुगेर जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने बताए । एमालेलाई जवान पार्टी बनाउने अभियान चलिरहेको उनको भनाई छ ।