भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन बन्द हुनेभएको छ । चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको हो । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १–१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काटिएका थिए ।
सडक आयोजना प्रमुख किरण कार्कीले पहिरो काट्ने काम बाँकी रहेकाले थप १५ दिन बन्द हुने बताए । उनका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सो सडकखण्ड बन्द हुनेछ । कालिखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन लागिएको हो । कालिखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बन्दैछ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम करिब सकिएको छ । तर, नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।
तुइन खोलाको मुग्लिनतर्फको ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको छ । तुइनको मुग्लिनतर्फको भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प नभएको जनाइएको छ । नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्नेछ । विस्फोटको सबै अधिकार र जिम्मा नेपाली सेनाले लिने छ । यो वर्ष १३ वटा पुलको काम सक्ने लक्ष्य रहेको छ । १९ वटा पुल मध्ये ४ वटा तयार भैसकेका छन् भने ९ वटा पुल अन्तिम चरणमा छन् ।