काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरू तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दाबीसमेत गरे ।
शुक्रबार काठमाडौँमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै उनले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यक्ताको सम्बोधन हुने गरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्न प्रतिष्ठानलाई निर्देशन दिए । प्रधानमन्त्री दाहालले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागिपरेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी रहेको बताए ।
प्रधानमन्त्री दाहालले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई सचेत गराए । उनले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्त दुरुस्त बनाउन पनि सरकारी अस्पतालहरूले जोड दिनुपर्ने बताए ।