काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्रीमा सघाउने गरी राष्ट्रपति पद माग्ने तयारी गरेको छ । राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री स्विकार्ने अफर ल्याएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेमा ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गर्न सकिने बताएका छन् । उनले कांग्रेसका तर्फबाट बनाइने राष्ट्रपति पदका उम्मेदवारलाई निर्वाचित गर्न माओवादीले सघाउने विश्वास व्यक्त गरे । “राष्ट्रपतिमा राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, संविधानको रक्षाका पक्षधर पार्टीहरू एक ठाउँमा उभिएर कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनु पर्छ”, उनले भने ।
उनले संविधान रक्षाका लागि भएपनि राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताए । राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिने बताए । उनले ठुलो दलनै बाहिर हुनु विडम्वना भएको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताए ।