भरतपुर । भरतपुर महानगरपालिकाले मापदण्डभित्र रहेरमात्रै बालगृह चलाउन आग्रह गरेको छ । मापदण्ड विपरित कैयन बालगृह सञ्चालनमा रहेको गुनासो आएपछि महानगरले शुक्रबार बालगृह सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । सञ्चालक एवम् प्रतिनिधिहरु सँग आयोजित अन्र्तक्रियमा उपमेयर चित्रसेन अधिकारीले मापदण्ड विपरितका बालगृहहरु बन्द हुने चेतावनी दिए । “मापदण्ड पुरा गर्नुस्, होइन भने बन्द हुनेछन्”, उनले भने, “तोकिएको मापदण्ड पालना भए, नभएको अनुगमन गर्नेछौँ ।”
सञ्चालकहरुले बालगृह सञ्चालन कार्यविधिलाइ सहज बनाउन आग्रह गरेका थिए । उपमेयर अधिकारी बालगृह अनुगमन समितिका संयोजक समेत हुन् । उनले बालगृहलाई अन्तिम पटक मापदण्ड पुरा गर्ने मौका दिइएको बताए । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलका अनुसार महानगरभित्र २३ वटा बालगृह छन् । संरक्षित बालबालिकाको सख्या ६ सय ७८ छ ।
जसमध्ये बालक २ सय ९६ जना अर्थात ४३ दशमलव ६६ प्रतिशत र बालिका ३ सय ४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेल, उपसचिव गणेश नेपाली, महिला विकास अधिकृत शुशिला वाग्ले लगायतले आआफ्ना धारणा राखेका थिए । महानगरले गत असार महिनामा पश्चिम चितवनका विभिन्न बालगृहहरुको अनुगमन तथा निरीक्षण गरेको थियो ।