काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडान नछाड्ने बताएका छन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी लगायतका टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्ला केही घटनाहरुले राष्ट्रपति राष्ट्रिय सहमतिमै छनौट गर्नैपर्ने स्थिति आएको बताएका थिए ।
“झापामा दुर्गा प्रसाईले पूर्व राजा लगेर कार्यक्रम गरे, तपाईँहरुलाई थाहै छ”, प्रधानमन्त्रीले भने, “भोलिपल्ट प्रसाईले एमाले अध्यक्ष केपी ओलीजीलाई पनि भेटेछन्, आशिर्वाद नै लिएको जस्तो, यो घटनाले राष्ट्रपतिमा अडान छोड्नुहुन्न भन्ने लाग्या छ ।” फागुन १ मा एमालेकै नेता प्रसाईले पूर्व राजा शाहलाई मेचीमा लगेर राष्ट्रिय स्भाभिमान अभियान चलाएका थिए । प्रधानमन्त्रीले सो घटनालाइ रहस्यपूर्ण भनेका छन् । केसी सहितको टोली विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो ।
अध्यक्ष केसीले देशमा प्रतिगमन सुरु भएको बताएका थिए । झापामा पूर्वराजा सहभागि भएको कार्यक्रमको निकै चर्चा भएको थियो । केसीले प्रतिगमन रोक्न आग्रह गरेका थिए । ‘केही घटनाक्रमले मलाई झस्काएको छ’, प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो । भेटमा प्रधानमन्त्री प्रचण्डले एमसीसी विकास योजनासँग जोडिएकोले पास गरेको बताउँदै त्यसपछि आएको एसपीपीलाई लडेर रोकेको दाबी गरे । केसीले राम्रो राष्ट्रपति चुन्न सुझाएका थिए ।