भरतपुर । चितवनको भरतपुर वडा नं १२ मा रहेको प्रेरणा स्कूलमा अध्ययनरत ३२ जना बिद्यार्थीहरु स्काउट दिक्षित भएका छन्। तीन महिना लामो आधारभूत तालिमपश्चात उनीहरूलाई बिहीबार एक समारोहवीच दिक्षित गरिएको हो। दिक्षित हुनेहरुमा १६ जना छात्र र १६ जना छात्रा रहेका छन्। उनीहरूलाई स्काउट मास्टर रुपेश थपलियाले तालिम दिएका थिए। स्कूलमा आयोजित समारोहमा भरतपुर महानगर स्काउट तदर्थ समितिका संयोजक शिब बरालको प्रमुख आतिथ्यमा दिक्षित गरिएको हो।
सो अवसरमा संयोजक बरालले स्काउटले बिद्यार्थीलाई शारीरिक ,मानसिक र सामाजिक रुपमा अव्वल बनाउन भूमिका खेल्ने बताउनुभयो। त्यस्तै स्काउटका राष्ट्रिय प्रशिक्षक जनार्दन ढकालले स्काउटरहरु सबैको भलो चाहने र आफु पनि सधैं अव्वल रहने हुँदा सबै बिधालयहरुले बिद्यार्थीलाई स्काउट तालिममा सहभागी हुन प्रेरित गर्न आग्रह गर्नुभयो। पत्रकार महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र पत्रकार सन्दिप श्रेष्ठले स्काउट अनुशाषन,नैतिकता र साहसको पर्याय भएको उल्लेख गर्दे स्काउटका गतिविधिमा सहभागी हुन बिद्यार्थीहरुलाई अनुरोध गर्नुभयो।
प्रेरणा स्कूलका प्राचार्य मोहन लामाले जीवन नै सिकाईको पुञ्ज भएको उल्लेख गर्दे पहिलो पटक स्काउट तालिककर्ता बिद्यार्थी दिक्षित गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सहायक प्राचार्य अविनाश अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा अभिभावक ,शिक्षक,शिक्षिका र अन्य बिद्यार्थी पनि सहभागी भएका थिए। दिक्षित बिद्यार्थी शुशान्त अधिकारीले तीन महिनाको तालिममा धेरै कुरा सिकेको बताउदै स्काउटले आफु लगायत सबै बिद्यार्थीको जीवनमा परिवर्तन ल्याउने बिश्वास व्यक्त गरेका छन्। छुटेका दुई बिद्यार्थीलाई उपयुक्त समयमा दिक्षित गर्ने सो अवसरमा जानकारी गराईएको थियो।