काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको स्रोतले जनाएको छ । पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीले आग्रह गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने जवाफ दिएका थिए । पूर्वप्रधानमन्त्री ओलीले पुस १० मा भएको सहमति स्मरण गर्न भनेका थिए । एमालेले राष्ट्रपति पदमा दाबी नछाडेको सन्देश दिएर ओली फर्केका थिए । ओली कांग्रेसप्रति सशंकित बनिरहेका छन् ।
सत्तासमीकरण फेरबदल हुनसक्ने चर्चाबारे पनि दुई नेताबीच छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने विश्वास दिलाएका थिए । गठबन्धन जोगाउने तर एमालेको साथ चाहिने प्रचण्डले भनेका थिए । एमाले वा राष्ट्रिय सहमतिमा राष्ट्रपति भन्ने बहस सत्तारुढ दलभित्र बाक्लिएको छ । फागुन १३ गते उम्मेदवारी दिने निर्वाचन कार्यतालिका अगावै एमाले र माओवादीबीच न्युनतम् सहमति हुने जनाइएको छ । पाँच वर्षसम्म वर्तमान गठबन्धन जोगाउने एमाले–माओवादीको अडान छ । तर, राष्ट्रपति पदकै कारण गठबन्धनको भविष्य अन्यौल बनिरहेको छ ।