काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति सत्ताभित्रबाट वा बाहिरबाट बनाउने टुंगो लगाउने भएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १३ गतेअघि राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय लिइने बताए । पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय हुने उनले बताए । पार्टीभित्र गृहकार्य भइरहेको पौडेलले बताए ।
माओवादी केन्द्र राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने अडानमा छ । तर, सत्तारुढ दल एमालेले एमालेबाटै राष्ट्रपति बनाउनुपर्ने दबाब दिदै आइरहेको छ । शक्ति सन्तुलनका लागि आँफुलाई राष्ट्रपति पद दिन कांग्रेसले लबिङ गर्दै आइरहेको छ । स्रोतका अनुसार माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन सघाउने निर्णय गर्ने तयारीमा छ । पौडेलले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने पार्टीभित्र बहस चलेपनि निर्णय भैनसकेको बताए ।
उनले सबैदलसँग छलफल गरेर राष्ट्रिय सहमतिका आधारमा चयन हुने दाबी गरे । माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएकाले राष्ट्रपति पद नछाड्ने अडान राख्दै आएको छ । सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्ने अभिव्यक्ति माओवादी नेताहरुले दिन थालेपछि एमले सशंकित बनेको छ । राष्ट्रपति पदकै कारण वर्तमान सत्तागठबन्धनभित्र असन्तुष्टी बढेको छ ।