काठमाडौं । सार्वजनिक यातायातसम्बद्व तीन मजदुर संगठन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विभिन्न विषयमा लिखित सहमति भएको छ । आज मन्त्रालयमा वार्तापछि बन्द, हड्तालमा उत्रिएका मजदुर संगठन र व्यवसायीले सहमति गरेका हुन् ।
सोमबारको तोडफोड र झडपको घटनाका दोषीलाई कारबाही, लोत्से बहुउद्देश्यीय प्रालिसँगको ४५ वर्षे सहमति खारेज, निलम्बनमा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता, पक्राउ परेका यातायात मजदुरलाई विनासर्त रिहा गर्नुपर्ने र ट्राफिक जरिवाना घटाउनुपर्ने व्यवसायी र मजदुरका माग छन् । सहमतिअनुसार मन्त्रालय मातहतका समस्याहरू मन्त्रालयले हेर्ने, काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने बसपार्कबारे महानगरले छानविन गर्ने र ट्राफिक प्रहरी मातहतका समस्याहरू ट्राफिकले समाधान गर्नेछ ।
यातायात मजदुरका समस्या समाधानका लागि आज दिउँसो ३ बजे यातायात व्यवस्था विभागमा पुनः वार्ता हुनेछ । सोमबार प्रहरी र यातायात मजदुरबीच झडप हुँदा दर्जनौ प्रहरी र मजदुर घाइते भएका थिए । केही मजदुरहरूलाई प्रहरीले पक्राउ गरेको थियो । सोमबारदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सञ्चालनमा आइसकेको छ ।