भरतपुर । भरतपुर महानगरपालिकाले विभिन्न अवसर पारेर संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु सम्पन्न गर्ने तर्फ केन्द्रित हुन सबैलाई आव्हान गरेको छ । भरतपुर महानगरका मेयर रेनु दाहालले जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दै जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको बताएकी छन् । प्रेस विज्ञप्ति जारी गर्दै मेयर दाहालले जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा स्वदेश–विदेशमा रहेका सम्पूर्ण जनसमुदायलाई शुभकामना व्यक्त गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘युगान्तकारी राजनैतिक परिवर्तनको यो ऐतिहासिक सन्दर्भमा जनतालाई सार्वभौम एवम् अधिकार सम्पन्न बनाउन उच्च बलिदान गर्नुहुने महान सहिदहरुप्रति हार्दिक श्रदासुमन साथै जनयुद्धका घाइते अपाङग तथा वेपत्रा योद्धाका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्धको दिवसको खुशीयाली बाँड्न चाहन्छु ।’ संविधानसभा मार्फत संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चितसहित संघ, प्रदेश र स्थानीय तहको सरकारको रुपमा अभ्यासमा आउनु पनि महान जनयुद्धकै योगदान भएको उल्लेख छ ।