उच्चस्तरीय राजनीति संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा आउन आग्रह गरेको छ ।आईतबार बिहान बालुवाटारमा भएको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भयो । सत्ता साझेदार दलहरुविच लामो कसरतपछि आईतबार उच्चस्तरिय राजनितिक संयन्त्रको बैठक बसेको हो । आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन संयन्त्रमा रहेका दलहरु सहमत भए ।
सरकारका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनका अनुसार रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको छ । रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले सांसदसहित उपप्रधान तथा गृह मन्त्रालय गुमाएका थिए । पुनः गृह मागे पनि गृहमन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको जानकारी दिंदै भने, ‘उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्याहरु छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने कुरा भएको छ,’ अध्यक्ष लिङ्देनले भने ।
रास्वपाले सरकार छाडेपछि गठबन्धन संकटमा पर्ने आंकलन गरिएको छ । अब फेरि सरकारमा जाने कि नजाने, जादाँ के कसरी जाने, कुन मन्त्रालय लिने भन्ने विषयमा ठोष निर्णय नभए पनि सरकारमा जाने विषयमा सो पार्टी सकारात्मक रहेको देखिन्छ । तर संयन्त्रको बैठकमा रास्वपाका सभापति कसरी प्रस्तुत भए ? के के विषय राखे, सरकारमा जाने विषयमा कसरी छलफल भईरहेको छ ? यस मामलामा रवि मौन देखिएका छन् । न बैठकमा उनले बोलेका अभिव्यक्ति बाहिर आएका छन् । न उनले नै सार्वजनिक रुपमा यस बारेमा केहि बोलेका छन् । तर उनले केहि सरकारमा गएर सुधारको सुरुवात भने गर्न प्रयास गरेका थिए । त्यो पुर्ण हुन सकेन । फेरि पनि चितवन २ बाट निर्वाचित भएर प्रतिनिधि हुने उनको चाहाना छ ।
गठबन्धनमा सात दल आबद्ध छन् । तर, सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् । केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरू संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिन थालिएको छ । गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको एमालेको सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ । यसको भोलिपल्ट शुक्रबार बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति मात्र होइन जनमत पार्टी पनि सहभागी भएन । आइतबार पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संयन्त्रको बैठक बसेको थियो ।
बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन् ।प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका तीन दलका नेता बैठकमा सहभागी नभएका हुन् । पछिल्लो समयमा सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको छ ।रास्वपा सरकारबाट बाहिरिएको, सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेको र राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजिनुपर्ने माओवादी केन्द्रको अडानलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको छ ।