भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले नेपालको राजनितिलाई शुद्ध बनाउन आफु जनतामाझ आएको बताएका छन् । उनले अबको ५ वर्षपछि संसदमा रास्वपा मात्रै रहने बताए । आगामी चुनावमा आफ्नो पार्टीले १०० सिट जित्ने उनको दाबी छ । ‘म लडेको मात्रै हो, मरेको छैन’, राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनीले आयोजना गरेको किसानहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशकै लागि काम गर्दा पनि पराई बनाईएको बताएका हुन् । राजनितिलाई सफा गर्न आएकाले केहि हिलो लाग्न सक्ने बताए ।
उनले भने, ‘म चाहान्छु, म मरेको बेलामा यो संसारमा सबैभन्दा बढि मलामी होस्, गिनिज बुकमा नाम लेखाउने मलामी ।’ आफुले कुनै कुकर्म नगरेको स्पष्टोक्ति दिदै उनले प्रमाणित भए चितवन नटेक्ने बताए । जनताको काम गर्दा कुनै गलत काम नगरेको उनको भनाई छ ।उनले भने, ‘आलोलाई चलाउने कोशिस नगर्नुहोला, यो आगो मैले व्यक्तिगत ताप र रापका लागि आफु भित्र सल्काएको आगो होईन, यो बर्षौसम्म दुख पाएका नागरिकहरुबाट लिएर आफ्नो शरिरमा लगाएको आगो हो, त्यतिबेला मात्र यो निभ्छ कि संविधानमै लेखिएका वाचा पुरा होस् ।’
निर्वतमान उपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति लामिछानेले चितवन २ मा फेरि घण्टी बज्ने बताए । आगामी उपनिर्वाचन तर्फ संकेत गर्दै उनले भने, ‘अब नबुझ्नेले बुझ्नेगरि, नसुन्नेले राम्रोसँग सुन्नेगरि चितवन २ मा फेरि घण्टी बज्नेवाला छ ।’ आफुले खुलेर आफ्ना भावनाहरु राख्ने गरेको भन्दै सभापति लामिछानेले जनताको मुद्धा बोकेर फेरि संसदमा पुग्ने उद्घोष गरे ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालले न्यायलय भित्रबाट आफुहरुमाथि प्रहार भएको गुनासो गरे । अन्तरक्रियालाई सम्बोधन गर्दै सर्वोच्च अदालतले गरेको फैसला न्याय संगत नभएको बताएका हुन् । कार्यक्रममा पशुपंक्षी विज्ञ हुम बहादुर बस्नेत र तत्कालिन कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले किसानका समस्याका बारेमा विचार राखेका थिए ।