काठमाडौं : नेकपा माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ। कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसंगमा सुझाव मागिएको हो । शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरेको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
बैठकले निर्माण गरेको महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको छ। तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिह्न परिवर्तनको कुरा उठे पनि निर्णय भइनसकेको पार्टी कार्यालय सचिव उपाध्यायले बताए। ‘बृहत् एकताका लागि परिवर्तन गर्न सकिने कुरामा सुझाव मागिएको हो। यसबारेमा कुनै निर्णय भएको होइन’, उनले भने। संगठन विभागको लिखित प्रस्तावमा नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव छ ।
पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय तल्ला समितिसम्म बहस हुने र दुई महिनापछि बस्ने केन्द्रीय समितिको बैठकमा छलफलपछि जरुरी भए निर्णय गर्न सकिने उपाध्यायले बताए। साना कम्युनिस्ट पार्टीसँग एकता गर्नका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता टोली बनाएर काम गरेको छ ।
नाम र चुनाव चिह्न परिवर्तनका लागि अन्य पार्टीले पनि प्रस्ताव गरेको महासचिव गुरुङले बताए। उनका अनुसार विशेषगरी पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले छलफल र प्रस्ताव गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच एकताका लागि फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन्।