भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा देशभर घण्टीबाहक उम्मेदवार विजयी हुने दाबी गरेका छन् । गैडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गरेर फर्केका उनले मन्दिरको फेदीमा आयोजित कोणसभामा भने, “घण्टी बाहक होनहार उम्मेदवार आउनेछन्, देशले सुन्ने गरी घण्टी बजाउनुहुनेछ, देशमा सुशासन र समृद्धिको आवाज घन्किनेछ, कसैले रोक्नेछैन ।”
मंसिर ४ को चुनाव पहिल्यै मन्दिरको दर्शन गर्ने सोच बनाएपनि जान नपाएका लामिछानेले आज (शनिबार) विहानै मन्दिर पुगेका छन् । “मुलुकको सुशासन र समृद्धिको सपना देखिरहेको छु”, उनले भने, “कुनैपनि हालतमा पुरा गर्ने प्रण प्रवित्र माटोमा गरेको छु, विचलित नभई नथाकी अगाडि बढ्ने छौँ ।”
लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बनेका थिए । नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि उनी पदविहिन बन्न पुगेका थिए । उनले सांसद पद गुमेपनि विचलित नभएको बताएका छन् । “देशकै धेरै मतान्तरले ऐतिहासिक विजय गराएर पठाउनुभएको थियो, म आत्तिएको छैन, म मात्तिएको छैन”, उनले भने, “सानो तगारो आइलाग्यो, आएको, परेको भोग्दै, सहदै चुचुरोमा पुग्नेछु ।”
लामिछानेका समर्थकहरुले भावि प्रधानमन्त्री रवि लामिछाने बनाउने भन्दै नाराबाजी पनि गरेका थिए । “३२ दिन गृहमन्त्रालयको यात्रामा प्रत्येक दिन नागरिकको आँसु पुछ्ने काम गरेँ, एक सेकेण्ड पनि खेर फालेको छैन”, उनले भने, “वेशक्याम्पमै अलमलिए भने कसरी चुचुरोमा पुगौँला र, माया, विश्वासलाई सम्पत्ति बनाएर खर्च नगरी काम गर्नेछु ।”
उनले खेलमा मैदान फेरिएपनि जनताप्रतिको इमन्दारिता र कर्तव्य कहिल्यै नभुल्ने बताएका छन् ।
“सुशासन र समृद्धि ल्याएर छाड्नेछौँ”, उनले भने, “ भगवान र तपाईहरुको आर्शिवाद विर्सेको छैन, हरेक नागरिक सुरक्षित भएको, देशमै रोजगारी भएको दिन ल्याएरै छोड्छौँ ।” उनले ४–५ महिनामात्रै तयारी गरेर मंसिर ४ को निर्वाचनबाट २० जना सांसदले जितेपनि अबको निर्वाचनमा रास्वपाले देशभरी जित निकाल्ने दाबी गरे ।