भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागि हुन आज साँझ चितवन आउने भएका छन् । लामिछाने शनिबार आधा दर्जन बढी कार्यक्रममा सहभागि बन्नेछन् । लामिछानेसँगै पार्टी उपसभापति डिपी अर्याल पनि कार्यक्रमहरुमा सहभागि बन्नेछन् । गैडाकोटको मौलाकालिका दर्शन गर्न शनिबार विहान साढे ६ बजे पुग्ने कार्यक्रम रहेको छ ।
यस्तै विहान ९ बजे आफ्नै निवासमा पार्टीको आन्तरिक छलफल तथा भेटघाटमा सहभागि बन्ने जनाइएको छ । विहान ११ बजे खैरहनी स्थित खैरहनी पार्टी भेन्युमा हुने कृषि सम्बन्धि कार्यक्रममा लामिछाने सहभागि बन्नेछन् । दिउसो २ बजे नारायणी नदी किनारमा जारी कोटीहोम ज्ञानमहायज्ञको दर्शन गर्न पुग्नेछन् । शनिबारकै दिउसो साढे २ बजे सभापति लामिछाने धर्मचोकमा भएको भागवत कार्यक्रममा सहभागि बन्ने जनाइएको छ ।
लामिछानको स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार शनिबारनै मेघौली विमानस्थलको अवलोकन गर्ने र गोलाघाट क्षेत्रमा आयोजित पर्यटन प्रर्वद्धन तथा विकास निर्माणका सवालहरुको छलफलमा सहभागि बन्नेछन् । मंसिर ४ को निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पदनै खारेज गरिदिएको थियो । लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री समेत बनेका थिए ।
अमेरिकि नागरिकता त्याग गरेर पुनः नेपाली नागरिकता नलिएको भन्दै परेको उजुरीकै कारण उनले पद गुमाउनुपरेको थियो । लामिछानेले पुनः नेपाली नागरिकता लिइसकेका छन् । सत्तागठबन्धन बन्ने बेलानै गृहमन्त्रालय रास्वपाको भागमा रहेपनि पछि सरकाले रास्वपालाई गृहमन्त्रालय दिन मानेको थिएन । गृहमन्त्रालयबाट लामिछाने बाहिरिएपछि फेरी गृहमन्त्रालय रास्वपाले नपाएपछि सरकारलाई दिएको समर्थन कायमै राख्दै ४२ दिनमै रास्वपाका मन्त्रीहरुले समेत राजिनामा दिएका थिए ।
लामिछाने यसअघि पुस २९ मा चितवन आएका थिए । सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनमा फेरी लामिछाने उम्मेदवार बनाएर धेरै मतान्तरले जिताउने रणनीतिमा रास्वपा चितवनले सक्रियता बढाएको छ ।