काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक प्रस्ताव ल्याएपछि पार्टी छाडेका नेताहरू पनि महाधिवेशनको पूर्वसन्ध्यामा विवेकशील साझामै सक्रिय भएका छन् ।मिश्रले साउन २०७८ मा संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि तत्कालीन संयोजक मिलन पाण्डेसँगै नेताहरू केशव दाहाल, रञ्जु दर्शना, रमेश पौडेल लगायतले पार्टी छाडेका थिए ।
अहिले आफूहरू पार्टी महाधिवेशनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रूप दिन जुटेको उनले सुनाए । पाण्डेका अनुसार अब संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयमा प्रष्ट धारणा बनाएर अघि बढ्ने तयारी छ ।नेतृत्व भने सहमतिमा चयन गर्ने भनिएको छ । दस्तावेज लेखन र निर्वाचनको जिम्मा पाएका नेता केशव दाहाल नेतृत्वमा आफ्नो दाबी नरहेको बताउँछन् ।‘हामी वैकल्पिक राजनीतिको मूल बाटो पहिल्याउने गरी राजनीतिक दस्तावेज लेखनमा लागिरहेका छौं,’ उनले भने, ‘महाधिवेशनमा निर्वाचन गराउने जिम्मा पाएको छु, पार्टीको नेतृत्व सहमतिमा खोज्न अधिकतम मेहनत गर्नेछौं ।’पार्टीका अर्का नेता यसपटक पार्टी नेतृत्वको बहसले प्राथमिकता नपाएको बताउँछन् ।
महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो ।