काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो ।बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा बसेको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति भएको थियो ।
उक्त भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएका थिए ।
बैठकमा सरकारका कामकारबाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकस लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।