काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना न्यून बन्दै गएको छ ।उनले प्रदेशसभाबाट विश्वासको मत लिने आज अन्तिम दिन हो ।गएको पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने निर्णय गरेपछि बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आजका लागि बोलाइएको हो । सो पार्टीका नेताहरूसँग नेकपा (एमाले)का नेताहरू निरन्तर छलफलमा छन् । अहिले नागरिक उन्मुक्तिका सबै प्रदेशसभा सदस्य काठमाडौंमै छन् ।
यता, नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान लिइरहेका बेला कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै कांग्रेस नेताहरुले भने सक्रियता बढाएका हुन् । प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका छन् । सभामुख भीमबहादुर भण्डारीसँग बुधबारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै बलायरले आपत्ति जनाएका थिए ।