काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहभागिता र बहिर्गमनको औचित्यबारे प्रश्न उठाएका छन् । लोकतन्त्र संवाद केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा महामन्त्री थापाले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताएका हुन् ।‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो ?’ उनले प्रश्न गरे ।
रास्वपा सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै पत्रकारिता क्षेत्रका विषयमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।‘प्रेसले हामीलाई क्वेस्चन सोध्ने ? भनेर हामीले प्रतिशोधपूर्ण रुपमा हेर्न थाल्यौं भने प्रेस र राजनीतिकर्मीका डाइनामिक सम्बन्धहरू बिग्रन्छ । प्रेस स्वतन्त्रता हाम्रा लागि महत्त्वपूर्ण छ ।’
एमालेको राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्नेछन्
यस्तै नेता थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका छन् । हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले सुनाए ।
कांग्रेस महामन्त्री थापाले भने, ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उनले बताए । थापाले अघि भने, ‘त्यसैले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्छौं । आफ्ना उम्मेदवारलाई भोट माग्छौं, फकाउन लाग्छौं ।’