काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन् ।अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त भेटघाटमा ।यूएसएड र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।साथै, यूएसएडले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ ।
अर्थमन्त्रालय स्रोतका अनुसार पावरले यूएसएडको एउटा परियोजना समेत उद्घाटन गर्ने कार्यक्रमको तयारी भएको छ ।अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरवहादुर देउवा प्रधानमन्त्री थिए । उनी २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् ।