भरतपुर । भरतपुर वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयले शिक्षक, कर्मचारी जन्त जानुपर्ने भएपछि विद्यालयनै बन्द गराएको छ । विद्यालयका लेखापालको विहेमा जन्त जानुपर्ने भएपछि विद्यालयले आज (सोमबारं) मनलाग्दी रुपमा जाडो विदा दिएको थियो ।
सबै शिक्षक, कर्मचारीले विहेमा जन्त जान विदा मागेपछि विद्यालयका प्रधानाध्यापकले वर्षभरी पाइने विदामा सट्टा विदा घोषणा गरिदिएका थिए । सो स्कुलमा आइतबार पढाई भएको थियो । एकाएक विद्यालयमा १ दिनका लागि जाडो विदा भएपछि अचम्मित बनेका अभिभावकहरु आक्रोशित भएका छन् । सापकोटा थरका लेखापालको विहेमा जन्त नवलपुर जानुपर्ने भएपछि विद्यालयनै बन्द गराइएको हो ।
भरतपुर–४ का वडाध्यक्ष अर्पण पोखरेलले महानगरबाट सोधपुछ भएपछि विद्यालय बन्द रहेको जानकारी पाएको बताए । “महानगरबाट सोधेपछि बुझुदा सबै शिक्षक, कर्मचारी जन्त जानुपर्ने भएपछि विदा दिइएको थाहा पाएँ”, उनले भने, “हामी पनि घटनाबारे सोध्छौँ, कानुनी परामर्श गरेर प्रक्रिया थाल्छौँ ।” विद्यालयका प्राचार्य रेशमबाबु ढकालले सट्टा विदा दिएको बताएपनि स्कूलका कर्मचारीको विहेको घटनाबारे बोल्न चाहेनन् ।
भरतपुर महानगरकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत तथा विद्यालय निरीक्षक ऋषिराम शर्माले विद्यालय बन्द गराइएको घटनाको छानविन हुने बताए । “महानगरलाई पूर्व जानकारी गराएर विद्यालय व्यवस्थापन समितिको निर्णय हुनुपर्ने थियो”, उनले भने, “विदा अधिकार होइन, मनलाग्दी रुपमा विदा दिने अधिकार कसैलाई छैन, स्पष्टिकरण सोध्नेछौँ ।” उनले चित्तबुझ्दो जवाफ नआए कारवाही हुने चेतावनी दिए ।विद्यालयले ३ दिन पहिलेमात्रै विद्यालय व्यवस्थापन समिति नयाँ गठन गरेको थियो । विद्यालयमा करिब १ हजार विद्यार्थी रहेका छन् । विद्यालयले यही माघ १४ गते ५९ औँ वार्षिकोत्सव मनाएको थियो ।