भरतपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले राष्ट्रिय सहमतिको प्रयास मतदानका दिनसम्म जारी राखिने बताएका छन् । उनले कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमतिकै आधारमा राष्ट्रपति चयन गर्ने पक्षमा कांग्रेस उभिएको बताए । कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाएर जिताउने दाबी समेत गरे ।
“माओवादी, एमाले कसको समर्थन हुन्छ, कसरी हुन्छ, त्यो भविष्यले देखाउनेछ”, उनले भने, “समर्थन नलिई त जित्दैनौँ, तर सहमतिको प्रयास अन्तिमसम्म रहनेछ ।” उनले संविधानको रक्षाका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपतिमा उम्मेदवारी दिने भनिएपनि तत्कालै सरकारमा कांग्रेस सहभागि नहुने बताए । विगतमा भएको संसद विघटनका घटना दोहोरिन नदिन कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिन लागेको टिप्पणी गरे ।