भरतपुर । चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढस्थित लायन्सचोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उनीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ भन्दै नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।
चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाए । “अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो”, उनले भने, “समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिनेछौँ ।”
उनले व्यवसायी चर्को व्यादरको मारमा परेको बताए । “७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्यो”, उनले भने, “ व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।” चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन व्यवसायीमैत्री नरहेको जीकिर गरे । “अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंकबीचनै तालमेल छैन, फरक फरक अर्थनीतिहरु छन्”, उनले भने, “एउटै आवाज, एउटै स्वर हुनुपर्छ, अर्थतन्त्र सुधार गर्न जिम्मेवार बन्नुपर्छ ।” उनले संसदभवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख समेत व्यक्त गरे । “प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस्”, उनले भने, “उनले सामाजिक सञ्जालमा उनले लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्धाहरु सरकारले सुन्नुपर्छ, नीजि क्षेत्रले राखेका मागहरु पनि पुरा हुनुपर्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताए । “पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उनले भने, “तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।” उनले उद्योगी–व्यवसायी निराश भएर देहत्याग गर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले बेलैमा सोच्नुपर्ने बताए ।
संघका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पुरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए । “उद्योग–व्यवसायनै धरासायी हुन थाल्यो, कोरोनापछि विस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरी बिग्रिन थाल्यो”, उनले भने, “देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।” संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गरे । संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताए । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले व्यवसायी प्रेमप्रसाद आचार्यको १३ औँ दिनको पूण्य तिथिमा आचार्यप्रति श्रदाञ्जली सभा समेत गरिएको बताए ।