काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।
आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो । पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।
उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएकी थिइन् ।