गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो ।
यही माघ २३ गते भोली देखीफागुन १ गतेसम्म हुने ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिए । महायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने जनाइएको छ ।
विहान ९ बजेदेखी कलश शोभा यात्रा र १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको महायज्ञका सह–संयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले बताए । योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा समावेशी २४ जना बटुकहरुलाई अध्ययन गराईदै आएको छ ।